काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकलबारीमा रहेको गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा बचतकर्ताको साढे २ करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ । प्रहरी वृत्त बौद्धले उक्त सहकारीका अध्यक्ष ३७ वर्षीय रोशनबाबु श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा ८९ बचतकर्ताको २ करोड ५६ लाख ५ हजार ८ सय ४६ रुपैयाँ ठगी गरेको खुलेको हो । साढे २ करोडभन्दा बढी रकम ठगी गरेको खुलेपछि सोही अनुसार बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरी वृत्त बौद्धले बुझाएको अनुसन्धान प्रतिवेदन अनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार अदालतमा ठगी मुद्दा दायर गरेको हो । सहायक जिल्ला न्यायाधिवक्ता प्रकाश ज्ञवालीले बिहीबार दायर गरेको मुद्दा आजदेखि तिहारको सार्वजनिक बिदा भएकाले तिहारपछि मात्रै सुनुवाइ हुने भएको छ ।