काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग प्रहरी मिलेर बिभिन्न ब्याक्तिसँग पैसा असुल्ने समाचार बाहिर आएपछि खैलाबैला भएको छ । नेपाल प्रहरीको भैंसेपाटी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक बिनुकुमारी शाही जोडिएको ‘हनी ट्रयाप’ प्रकरण अहिले लहरो तान्दा पहरो गर्थिएजस्तै बनेको छ ।
बिनुकुमारी शाहीसँग नेपाल प्रहरीका एसपी कमल थापाको पनि रहस्यमय कारोबार भएको हुनसक्ने आकलन देखिएपछि अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाही सहित एसपी कमल थापामाथि पनि अनुसन्धान गर्न थालेको छ ।
‘हनी ट्रयाप’ प्रकरणमा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल पनि झिकाएर अनुसन्धान सुरु भैरहेको प्रहरी स्रोतले बताएको छ । पक्राउ पूर्जी जारी भएपछि इन्स्पेक्टर शाही फरार छिन् ।
ललितपुर प्रहरीको छानबिन समितिको जाँचका क्रममा शाहीलाई प्रकरणका आरोपी ताज स्माइलसँग एसपी कमल थापाले चिनजान गराइदिएको तत्य भेटिएपछि घटनाले नयाँ मोड लिएको हो।
अनुसन्धानका क्रममा एसपी थापाको स्माइलसँग पटकपटक भेटघाट र कुराकानी हुने गरेको समेत भेटिएको थियो ।
आरोपी इस्लामको समूहले एक जना युवती प्रयोग गरेर व्यवसायीसँग बलात्कारको मुद्दा लगाइदिने भन्दै बार्गेनिङ गर्ने र प्रहरी समेतको उपस्थितिमा लाखौँ लाख रुपैयाँ बार्गेनिङ गरेर पैसा उठाउने गरेको अनुसन्धानबाट खुलेको हो ।