काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ तानेको छ । निक्षेप बढिरहेको समयमा कर्जाको माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदै गएको छ । बैंकहरूसँग अहिले करिब सात खर्ब रुपैयाँ लगानीयोग्य पैसा छ ।
बुधबार तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप सङ्कलन बोलकबोलमार्फत एक खर्ब रुपैयाँ तान्न आवेदन माग गरेपछि बैंकहरूले दुई खर्ब सात अर्ब १० करोड रुपैयाँ निक्षेप राख्न निवेदन दिएका थिए । राष्ट्र बैंकले निवेदन दिएका २५ वटा बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । बैंकहरूले न्यूनतम दुई दशमलव सात दुई प्रतिशत र अधिकतम दुई दशमलव नौ पाँच प्रतिशतसम्म व्याज माग गर्दै निक्षेप राख्न बोलकबोल पेस गरेका थिए ।
राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल गरेको हो । ब्याजदर भने बहुब्याजदरका आधारमा बोलकबोल माध्यमबाट निर्धारण गरिएको थियो । निक्षेप सङ्कलनका लागि बैंकहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम सम्म निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।