भरतपुर । भरतपुर महानगरपालिका–१ स्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा स्थानीय जातका गाईको संरक्षण गर्न एक करोड एक लाखको अक्षय कोष स्थापना गरिएको छ । केन्द्रका संयोजक नवराज ढकालका अनुसार ०३९ सालदेखि केन्द्रमा गाई संरक्षण थालिएको हो । योगी नरहरिनाथबाट गौ संरक्षण सुरु भएको भन्दै उनले त्यसलाई निरन्तरता दिइएको बताए ।
अक्षय कोषका लागि ११ हजार एक सयको आजीवन सदस्य र एक लाख एक हजारको संरक्षक सदस्य बनाइएको छ । ४५ जना संरक्षक सदस्य र तीन सय २५ जना आजीवन सदस्य छन् । ०७४ बाट कोष स्थापना गरी रकम संकलन गर्न थालिएको हो । कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने लक्ष्य छ । यो तिहारमा १८ लाखभन्दा बढी संकलन भएको उनले बताए ।
गौ संरक्षण केन्द्रले दुई सय ५० भन्दा बढी स्थानीय जातका गाई पालेको छ । ती गाई पाल्न कोष स्थापना गरिएको हो । केन्द्रका पूर्वसंयोजक टंकनाथ पौडेलले दीर्घकालसम्म गाईको संरक्षण गर्न सकियोस् भनेर कोषको अवधारणा ल्याइएको बताए ।