खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभा सदरमुकाम खाँदबारीमा स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख प्रदान गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई २० लाखको चेक हस्तान्तरण गरे । उनीहरुले उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गरेका हुन् ।
यसअघि श्रेष्ठका पाँच दाजुभाईले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न ५० लाख नगद र छ रोपनी जग्गा निशुल्क दान गरेका थिए । नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरुको उपचार गरिने बताए ।
वार्षिक चार हजार आँखाका रोगी तेजरत्न आँखा उपचार केन्द्रमा उपचारका लागि आउने गर्छन् । आँखा उपचार केन्द्रले वार्षिक छ सय बढीको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्ने गरेको जनाएको छ । केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ ।