काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जना विरुद्ध पक्राउ पुर्जि जारी भएको छ । उनीहरु विरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जि जारी भएसंगै प्रहरीले अनुसन्धान थालेको हो । संसदको सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलको समेत नाम आइरहेको यस उमागौरी सहकारीमा पूर्वसंलाक समेत रहेकी पोखरेल पत्नी अञ्जला कोइराला सहकरीको कालोसूचीमा छिन् । कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ मा संलाकबाट राजीनामा दिएकी थिइन् । प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान सञ्चालक समितिका ७ सदस्यहरु अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह सदस्यहरु आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै लेखा समितिका ३ सदस्यहरु लेखा समिति संयोजक विजयकुमार यादव तथा सदस्यहरु सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको र फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १ सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।