काठमाडौँ, असार २४
बीमा समितिले बीमालेख धितो राखी दिइने कर्जामा नयाँ व्यवस्था लागू गरेको छ । समितिले सञ्चालनमा रहेका सबै किसिमका बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । नयाँ व्यवस्थाअनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेखा ‘ब्याक डेट’ गर्न सक्नेछन् । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरेको बीमालेखको हकमा ‘ब्याक डेट’ गर्न पाइनेछैन । बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी ऋण प्रदान गर्दा बीमालेख प्रारम्भ मितिबाट दुुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिनेछ ।
तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरेको बीमालेखको हकमा भने बीमा प्रारम्भ मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने व्यवस्था गरिएको समितिले जानकारी दिएको छ । समितिका अनुसार हाल नेपाली बीमा क्षेत्रमा सबै किसिमका गरी ४० वटा कम्पनीहरुले बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएका छन् । जसमध्ये १९ वटा कम्पनीले जीवन बीमा, २० वटाले निर्जीवन बीमा र एउटाले पुुनर्बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको समितिले जानकारी दिएको छ ।