काठमाडौं, असार २४
काठमाडौं उपत्यकाभित्र भएका विभिन्न सुनचाँदी पसलहरूको सटर फोडी सुन तथा चाँदीका गरगहना र नगद रकम चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका २ का ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका ४ का ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका ३ का ४९ वर्षीय विक्रम भन्ने जङ्गबहादुर माझी रहेका छन् ।
२०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका २ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्रामबराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रूपैयाँबराबरको धनमाल चोरी भएको थियो । अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूले रातको समयमा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साइकलमा विभिन्न सुनचाँदी पसलहरूको रेकी गर्ने र धेरै मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोडी चोरी गर्ने गरेका थिए । चोरीपछि घटनास्थल पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत उनीहरूले लाने गरेको पाइएको प्रहरीले जनाएको छ । दुईवटा समूह मिलेर उक्त चोरीको काम गर्ने गरेका थिए ।
दुई समूहका नाइकेबीच जेलमा बस्दा चिनजान भएको र त्यहाँबाट छुटेपछि उनीहरूले आफ्नो म्यादीहरूलाई बोलाई अब अन्तिमपटक ठूलो काम गर्ने भन्दै सुनचाँदीका गरगहना चोरी गर्न लगाएका थिए । ५०/५५ वर्षका पुराना चोरहरूले २०/२१ वर्षका चोरलाई प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । चोरी गरेका सामानहरू मुख्य नाइके भारतीयमूलका चोरले बेचबिखन गरी फरार रहेको प्रहरीले जनाएको छ ।