पाकिस्तान । दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको एक रेलवे स्टेसनमा पाकिस्तानी पृथकतावादीहरूले दाबी गरेको बम आक्रमणमा १४ सैनिकसहित २५ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ । प्रान्तीय राजधानी क्वेटाको मुख्य रेलवे स्टेशनमा यात्रुहरू प्लेटफर्ममा पर्खिरहेका बेला विस्फोट भएको हो ।
‘मृत्यु भएको पुष्टि भएका २५ मध्ये १४ जना सेनाका कर्मचारी छन्’, एक वरिष्ठ स्थानीय प्रहरी अधिकारी मुहम्मद बलोचले बताए । स्थानीय अस्पतालका प्रवक्ताले विस्फोटमा परी घाइते भएका दर्जनौँ व्यक्तिलाई अस्पतालमा ल्याइएको र धेरैको मृत्यु
भएको बताए ।
बलुचिस्तानमा बारम्बार आक्रमणहरू भए तापनि अफगानिस्तान र इरानको सिमाना जोडिएको दक्षिणपश्चिमी प्रान्तमा शनिबारको विस्फोटबाट मृत्यु हुनेको संख्या विशेष गरी उच्च रहेको छ ।
रेल स्टेसनमा विष्फोट बिहान ८ः४५ बजे भएको थियो । यस क्षेत्रको मुख्य अलगाववादी समूहहरूमध्ये एक बलुच लिबरेशन आर्मी (बीएलए) ले आक्रमणको दाबी गरेको छ । पाकिस्तानी सेनाको एक एकाइलाई लक्षित गरी आक्रमण गरिएको बीएलएले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
पाकिस्तानको आधिकारिक समाचार एजेन्सी एसोसिएटेड प्रेसले रेलवे अधिकारीहरूलाई उद्धृत गर्दै दुईवटा रेल छुट्ने क्रममा टिकट बुथ नजिकै विस्फोट भएको बताएको छ । रासस/एएफपी