काठमाडौँ । नारायण भगवान् विष्णुको पूजा आराधना गरी मंगलबार काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाइँदैछ । उपत्यकाका चार नारायण मध्ये आज मंगलबार भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेषनारायण र इचङ्गुनारायणमा विशेष मेला लाग्ने गर्दछ ।
काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना तुलसीको विशेष पूजा गर्दै आएकामा मङ्गलबार तुलसी विवाह गरेर एकादशी मनाइन्छ । हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु भगवान् ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिएको हो ।