काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी मङ्सिर ५ गते नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण र जङ्गी अड्डामा सम्मान गारतको निरीक्षण गर्नेछन् । उनले कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तर्क्रिया र पश्चिम पृतनाको भ्रमण गर्ने कार्यसूची रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री मानवीर राई र समकक्षी प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गर्ने जनाइएको छ ।
राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले सेनाध्यक्ष द्विवेदीलाई मङ्सिर ६ गते नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने छन् । नेपाल र भारतबीच सन् १९५०देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ । यसअघि भारतका राष्ट्रपति रामनाथ कोविन्दले नेपालका तत्कालीन प्रधानसेनापति प्रभुराम शर्मालाई २०७८ कात्तिक २४ गते भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका थिए । यस्तै, यसअघिका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ भदौ २० गते नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी थिइन् ।
सन् १९५० मा भारतका सेनाध्यक्ष जनरल केएम परिअप्पालाई पहिलोपटक नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो भने २०२६ सालमा तत्कालीन प्रधानसेनापति सुरेद्रबहादुर शाहलाई पनि पहिलोपटक भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित गरिएको थियो । नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष द्विवेदीले पशुपतिनाथ र मुक्तिनाथको दर्शन गर्नुका साथै पोखरा तथा सगरमाथा क्षेत्रको समेत अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ ।