दार्चुला । नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइते भएकाहरुलाई थप उपचारका लागि धनगढी लगिएको छ । शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले जिप चालक सुनिल जोशी, जिपमा सवार उत्तम रोकाया र सन्दीप रावललाई थप उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत धनगढी पठाइएको जानकारी दिएका हुन् ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले घाइते दुई जनाको अवस्था सामान्य रहेको हुँदा उनिहरुको गोकुलेश्वर अस्पतालमै उपचार भइरहेको बताए । दुर्घटनास्थलबाट घाइतेहरुलाई उद्धार गरी गोकुलेश्वर अस्पताल लगिएको थियो ।
दार्चुलामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले पाँच जनाको घटनास्थलमै र बाँकी तीन जनाको उद्धार गरेपछि उपचारका क्रममा मृत्यु भएको बताए । उनका अनुसार जिप दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–९ नक्तड बस्ने ४५ वर्षीय दिलीप बिष्ट र ४० वर्षीया मिना लेखक, शैल्यशिखरकै वडा नम्बर–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २५ वर्षीया शान्ति रावल, बैतडीको डिलाशैनी गाउँपालिका–५ का ५० वर्षीय वीरेन्द्र बोहरा, सोही ठाउँका १६ वर्षीय सुजीव बोहरा, युपी भारतका ४५ वर्षीय मोहमद शाकिर र मेजावट भारतका १८ वर्षीय मोहमद ओसिल गरी आठ जना छन् ।
मालिकार्जुन गाउँपालिका–३ मडमा लागेको मालिकार्जुन मन्दिरको जात्राबाट फर्किने क्रममा दर्शनार्थी बोकेको म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान शैल्यशिखर नगरपालिका–६ ग्वानीमा दुर्घटना भएको हो । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएको छ ।