काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र विद्युतीय उपकरणसम्बन्धी उद्यमीहरूको छाता संगठन नेपाल विद्युतीय व्यवसायी महासंघबीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । बुधबार भएको सम्झौतापत्रमा गरिमा विकास बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मी र नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार नेपाल विद्युतीय व्यवसायी महासंघले उक्त संघमा आबद्ध विद्युतीय उपकरणसम्बन्धी उद्यमीलाई गरिमा विकास बैंक लिमिटेडमा व्यावसायिक सम्बन्ध स्थापित गरी बैंकिङ कारोबार गर्नका लागि सहजीकरण गर्नेछ । संघमा आबद्ध उद्यमीले गरिमा विकास बैंक लिमिटेडबाट विकास बैंकले केही समयअघि सार्वजनिक गरेको आकर्षक व्याजदर योजनाअन्तर्गत आठ दशमलव ४८ प्रतिशतमा व्यावसायिक अधिविकर्ष कर्जा तथा सुन दशमलव ७५ प्रतिशत प्रिमियम दरमा साना तथा मझौला व्यवसाय कर्जा प्राप्त गर्नेछन् । साथै, प्रचलित कानुनअनुसार घर कर्जा, सवारी कर्जा, सेयर कर्जा, सुनचाँदी धितो कर्जा, क्रेडिट कार्डलगायतका सुविधाहरू समेत प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।