काठमाडौं । नेपाल टेलिकमको मुनाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार नाफामा १४ प्रतिशतभन्दा बढीले कमी देखिएको हो ।
कम्पनीका अनुसार चालु आवको खुद नाफा एक अर्ब ७३ करोड ९५ लाख ८९ हजार रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा दुई अर्ब दुई करोड ७४ लाख ३१ हजार रुपैयाँ मुनाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको मुनाफामा २८ करोड ७८ लाख ४१ हजार रुपैयाँ (अर्थात् १४ दशमलव २० प्रतिशत)ले कमी भएको हो । यद्यपि करअघिको नाफा भने बढेको कम्पनीले जनाएको छ । यस वर्ष कम्पनीको करअघिको नाफा तीन अर्व ५५ करोड ३६ लाख ९३ हजार रहेको छ भने गत वर्ष तीन अर्ब ३३ करोड ९३ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।
यस्तै, कम्पनीको कुल आयमा पनि पाँच दशमलब ४९ प्रतिशतले कमी भएको छ । कम्पनीले यस वर्षको प्रथम त्रैमासिकसम्म १० अर्ब छ करोड ३७ लाख ३५ हजार रुपैयाँ कुल आम्दानी गरेको छ । गत वर्ष कम्पनीले सोही त्रैमासमा १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल सञ्चालन आयमा भने थोरै वृद्धि भएको छ । यस वर्ष कम्पनीको कुल सञ्चालन आय आठ अर्ब ६८ करोड एक लाख ८५ हजार रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा कम्पनीको कुल सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ रहेको थियो । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको छ ।
कम्पनीले ओटीटीको सेवाको बढ्दो प्रयोग, विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधार, सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन, सेवा सञ्चालनको लागि आवश्यक ब्यान्डविथ कम दरमा खरिद, बैंक व्याजदरमा भएको परिवर्तन, योगदानमा आधारित पेन्सन योजना लागू गरेकोलगायतका कारण मुनाफामा कमी आएको जनाएको छ ।