काठमाडौँ । मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेको र पानी बगेर खेर गइरहेको जानकारी आएपछि खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
पछिल्लो समय खानेपानीका पाइप फुटेका र मर्मत नभएका कारण नागरिकका घरमा पानी पुग्न नसकेको गुनासो आएको बताउँदै मन्त्री यादवले भने, “जहाँ पाइप फुटेका छन् तत्काल मर्मत गरी पानी सञ्चालन गर्नुस्, जनताका धारामा पानी जान बन्द नहोस् ।”
मन्त्रालयले काठमाडौँ उपत्यकावासीका लागि २५ करोड लिटर र ५० लाख लिटर थप पानी आपूर्तिका लागि ‘ट्रिटमेन्ट प्लान्ट’ बनाउन ठेक्का आह्वान गरिसकेको मन्त्री यादवले जानकारी दिए । उनले पाइप फुटेका ठाउँहरुमा नयाँ पाइप जडान गरी पानी सञ्चालनका लागि निर्देशन दिनुका साथै प्रत्येक वडामा गएर पानी आए नआएको तथा कहाँकहाँ पाइप फुटेको छ त्यो विषयमा स्थलगत अनुगमन गर्नसमेत निर्देशन दिए ।