काठमाडौं । लक्ष्मी सनराइज बैंकले नवौँ आमन्त्रण गल्फ प्रतियोगिता काठमाडौंको गोकर्ण रिसोर्टमा शनिबार १६ नोभेम्बर २०२४ सम्पन्न गरेको छ । ‘स्विङ फर सस्टेनेबिलिटी’ विषयमा रही गरिएको उक्त प्रतियोगितले बैंकको शून्य कार्बन अवधारणा र हरित पहलहरूप्रतिको प्रतिबद्वतालाई जोड दिएको थियो । प्रतियोगितापूर्व यस प्रतियोगितामा हुने सम्भावित सम्पूर्ण कार्बन उत्सर्जनको अध्ययन गर्दा उक्त कार्यक्रममा एक टन कार्बन उत्सर्जन हुने र त्यसलाई परिपूर्ति गर्न ४५ वटा रूख वृक्षारोपण गरिनुपर्ने आकलन गरिएको थियो । यद्यपि बैंकले कुल एक हजार वटा रुख रोप्ने प्रतिबद्धता जनाएको छ । साथै, हरेक सहभागीहरूलाई हरित तथा दिगो भविष्यको लागि आफ्नो व्यक्तिगत योगदान स्वरूप एक–एक बिरुवा पनि प्रदान गरिएको थियो ।
एक दिने सो कार्यक्रममा एक सय सात गोल्फरहरूको सहभागिता रहेको थियो जसमा आठ महिला प्रतियोगीहरू थिए । सहभागीहरूले ३४ ह्यान्डिक्यापको साथ १८ होल स्टेबलफोर्ड ढाँचामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा विभिन्न क्षेत्रका कर्पोरेट लिडर, गोल्फ उत्साही तथा दिगोपनका अधिवक्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको बिजेतामा आत्माराम सिम्खडा (४३ अंक), उपविजेताः आशीष लाल श्रेष्ठ (४२ अंक), उत्कृष्ट ग्रसः टासी छिरिङ (३८ अंक), वरिष्ठ श्रेणी विजेताः तुलसी भट्ट (४० अंक), महिला विजेताः तारा कार्की चित्रकार (३५ अंक), महिला उपविजेताः सुमित्रा खड्का (३० अंक), सबैभन्दा लामो ड्राइभः नोर्बु छिरिङ शेर्पा र पिनको नजिकः अनिल कुमार सिन्हा परेका छन् । विजेताहरूलाई लक्ष्मी सनराइजका अध्यक्ष रमण नेपालले पुरस्कार प्रदान गर्नुका साथै बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्लबका क्याप्टेन जोसेफ नाथनले सम्मान गर्दै सो प्रतियोगिताको दिगोपनप्रतिको प्रतिबद्वतालाई थप जोड दिएका थिए ।
यस वर्षको प्रतियोगिताले लक्ष्मी सनराइजको कर्पोरेट पहलहरूमा दिगोपनलाई एकीकृत गर्न नवीन दृष्टिकोणको उदाहरण दिन्छ । कार्बन फुटप्रिन्ट न्यूनीकरण र पर्यावरणमैत्री अभ्यासहरूलाई प्रोत्साहित गर्दै बैंकले आफ्नो गतिविधिहरूलाई अरेन्ज लभ्स ग्रिन अभियानसँग एकीकृत गरिरहेको छ र हरित बैंकिङमा आफूलाई अग्रणीरूपमा स्थापित गर्दै आएको छ । बैंकले यस्ता विभिन्न खेलकुद, सामुदायिक संलग्नता तथा दिगोपनका पहलहरूले समाजमा कसरी सकारात्मक प्रभाव पार्न सकिन्छ भनेर प्रदर्शन गरिरहेको छ ।