काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका छन् । सोमबार ज्ञानेश्वरस्थित सानो गौचरन पुगेर उनले ढुङ्गानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुङ्गाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएकाले उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने आवश्यकता भएको बताए ।
मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनीप्रति श्रद्धाञ्जली व्यक्ति गर्न उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्य पनि गौचरन पुगेका छन् । ८३ वर्षको उमेरमा कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो निधन भएको थियो ।