बोदे बर्साइन (सप्तरी) । पहरीले राजगढ गाउँपालिका–४ बाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
धनकुटाको सहिदभूमि गाउँपालिका–३ का ३३ वर्षीय टिपर चालक यमजित राई पक्राउ परेका छन् । कल्याणपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार टिपर निरीक्षण गर्दा ५६ बोरा गाँजा फेला परेको हो । निजलाई मंगलबार अदातलमा पेस गरिने छ र उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।