काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)बीच अलीपे प्लस नेटवर्कमा रहेका सदस्य वालेटहरूमार्फत नेपाल पे मर्चेन्ट अन्तरदेशीय भुक्तानी गर्नका लागि आइतबारका दिन सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यस सम्झौताअन्तर्गत नेपालमा रहेका नेपाल पे क्युआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्युआरमा अली पे प्लस नेटवर्कमार्फत भुक्तानी गर्न सकिने छ ।
चाइना, हङकङ, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मकाउ, थाइल्यान्ड, साउथ कोरिया तथा इटालीलगायतका देशबाट नेपाल आएका पर्यटकले आफ्नो डोमेस्टिक वालेटमार्फत नेपालमा रहेका नेपाल पे क्यूआर तथा अन्तर सञ्चालित मर्चेन्ट क्युआरमा सजिलै भुक्तानी गर्न सक्नेछन् । हाउसले अली पे प्लससँग इन्टरनेसनल पेमेन्ट पार्टनरका रूपमा आबद्ध भई दुई नेटवर्कबीच भुक्तानी सुचारु गर्नका निम्ति आवश्यक व्यवस्था मिलाइसकेको छ । यसै पहलअनुरूप बैंकले सो भुक्तानी सेवा कार्यान्वयन गर्नका निम्ति सम्झौता भएको हो ।
बैंकले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना एक सय ९७ वटा शाखा, एक सय ६२ वटा एटीएम, तीन वटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाईहरूबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।