काठमाडौं, असार २५
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुुधबार केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । कोभिड १९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखी आवश्यक सुरक्षाका मापदण्डहरू अपनाई, भर्चुअल प्रविधिलाई समेत उपयोग गरी सभा सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ ।
सभाले कम्पनीका अध्यक्ष मनोहरदास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको छ । सभाले आ.ब. २०७५/०७६ को मुनाफाबाट विगतमा कम्पनीले जारी गरेको २० प्रतिशत हकप्रद सेयरले समेत प्राप्त गर्ने गरी चुक्ता पुँजी एक अर्ब पाँच करोड ६० लाखको आठ दशमलव १२ प्रतिशतले हुन आउने खुद आठ करोड ५८ लाखबराबरको बोनस सेयर वितरण गर्ने र सो बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साथै सभामा सर्वसाधारण सेयरधनीहरूको समूहबाट गणेश राज रेग्मी र कमल भट्टराई आगामी चार वर्षको लागि निर्बिरोध निर्वाचित भएको घोषणा गरिएको छ । सभामा आव २०७५/०७६ मा अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमाशुल्क आठ प्रतिशतले वृद्धि भई एक अर्ब ३६ करोड बीमाशुल्क आर्जन गरेको कम्पनीले जनाएको छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १२ करोड चार लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ रहेको थियो ।