काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि उपस्थित गराइएको छ । भक्तपुरको निजी निवासबाट मंगलबार दिउँसो पक्राउ परेका उनलाई म्याद थपका लागि बुधबार अदालतमा पेस गर्न लगिएको हो ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नेपाल प्रहरीको साइबर ब्युरो (सिआइबी) ले प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको जानकारी दिए । उनले भने, “प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको र उनीविरुद्ध साइबर अपराधसम्बन्धी कसूरमा म्याद लिएर अनुसन्धान गरिनेछ ।”
प्रधानमन्त्री केपी ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिआटा टेलिकममा अवैध लगानी रहेको भन्दै प्रसाईंले सोमबार पत्रकार सम्मेलन गरी विवादास्पद विवरण सार्वजनिक गरेका थिए । प्रसाईंलाई मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मिथ्या र गलत सामग्रीबारे दुष्प्रचार गरेको आरोपमा सिआइबीले पक्राउ गरेको थियो ।