काठमाडौं, असार २५
ग्लोबल आईएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।
मुख्यमन्त्री राउतले कोरोना भाइरसविरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दे बैंकलाई धन्यवाद दिए । बैंकले, कोरोना भाइरसले नेपाललगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।
बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरूमा सहयोग गर्दै आएको छ र आगामी दिनहरूमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ७० करोड २६ लाख १४ हजार आठ सय ९४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही बैंकले एक अर्ब ८७ करोड २१ लाख २४ हजार पाँच सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
हाल चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई खर्ब एक अर्ब ५९ करोड ६९ लाख ९९ हजार पाँच सय ४४ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ९५ अर्ब १८ करोड ८४ लाख एक हजार नौ सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा छ अर्ब ३३ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव १४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा भने एक खर्ब २० अर्ब आठ करोड ८४ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब आठ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६८ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ७६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।