काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।
पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फम्र्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् । बायाँ हाते स्लो स्पिन र बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा चार ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् ।