काठमाडौं । सिंहदरबारमा आइतबार फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनको विषयमा राजनीति गर्न नहुने बताएका छन् ।
काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न अब ढिलाइ गर्न नहुने बताउदै उपप्रधानमन्त्री सिंहले फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गरे । उनले फोहोर व्यवस्थापनको विषयमा छलफल र बहस मात्र गर्ने प्रवृति गलत भएको पनि बताए ।
सङ्घीयताको मर्मअनुसार तीन तहको सरकारले आ–आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको भनाइ छ । उनले फोहोर व्यवस्थापन सबैको सरोकारको विषय बन्नुपर्ने उल्लेख गर्दै कुनै एउटा महानगरपालिकाको मात्रै दायित्व नभएको पनि बताए ।