काठमाडौँ । राहदानी विभागको सेवा ठप्प भएपछि सेवाग्राही आक्रोशित भएका छन् । राहदानी विभागले राहदानी आवेदन प्रणालीसँग सम्बन्धित केही कम्प्युटरहरूमा भाइरस प्रवेश भएपछि त्यसको फैलावट रोक्न पर्याप्त सतर्कता अपनाउनु पर्ने भएकोले जिल्ला-ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूको राहदानी सेवा बन्द गर्नु परेको बताएको छ । विभागले एक सूचनामार्फत उक्त स्थानहरूमा सेवा क्रमशः कार्य प्रारम्भ हुँदै जाने गरी व्यवस्था मिलाइएको र पूर्ण रूपमा कार्य प्रारम्भ हुन १–२ हप्तासम्म लाग्न सक्ने बताएको छ ।
राहदानी वितरणको काम अनिश्चितकालका लागि रोकिँदा सेवाग्राही भने मर्कामा परेका छन् । सेवाग्राहीले आज आइतबार त्रिपुरेश्वरस्थित राहादानी विभाग परिसरमा आक्रोश ब्यक्त गरेका छन् । होहल्ला भएपछि प्रहरीले सेवाग्राहीलाई आक्रोशीत नबन्न अनुरोध गरेको छ । साथै विभिन्न संचारमाध्यमहरुलाई फोटो र भिडीयो सामाग्रीहरु खिच्न रोक लगाएको छ ।
राहादानी विभागले भने गत शुक्रबार गत शुक्रबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेर समस्या समाधान गर्न प्राविधिक समूहले काम गरिरहेको जानकारी गराएको थियो । १० मंसिरदेखि सबै समस्या समाधान गरेर सेवा पुनः सुरु गर्न प्रयास गरिरहेको विभागले जनाएको छ ।