काठमाडौं । बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा (एनपीएल)को व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । देशमा लगानीको वातावरण बन्न नसक्दा नयाँ कर्जाको माग बढ्न सकिरहेको छैन । विगतमा प्रवाह भएको कर्जाको साँवाब्याज पनि नियमित उठाउन नसक्दा बैंकहरूको निष्क्रिय कर्जा निरन्तर बढ्दै गएको छ । अर्थतन्त्रमा देखिएको सुस्तताकै कारण कर्जा असुली चुनौतीपूर्ण बन्दै गएको बैंकर बताउँछन् ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार पछिल्लो दुई आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको ग्राफ निरन्तर उकालो लागेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंक तथा वित्तीय संस्थाहरूले ६६ खर्ब ६२ अर्ब २६ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये औसत चार दशमलव ४२ प्रतिशत निष्क्रिय कर्जा छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकहरूले ५९ खर्ब १४ अर्ब ३४ करोड ७० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने निष्क्रिय कर्जा औसत तीन दशमलव ६६ प्र्रतिशत थियो ।
यस वर्ष पहिलो त्रैमाससम्म वाणिज्य बैंकहरूले ५९ खर्ब २५ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसत चार दशमलव २८ प्रतिशत निष्क्रिय कर्जा थियो । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म निक्षेप सङ्कलन ५२ खर्ब २१ अर्ब ८४ करोड ३० लाख रुपैयाँ र कर्जा प्रवाह ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ थियो । गतवर्ष निष्क्रिय कर्जा औसत तीन दशमलव ६१ प्रतिशत थियो ।
यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म विकास बैंकहरूको निष्क्रिय कर्जा चार दशमलव ३७ प्रतिशत छ । यो अवधिसम्म विकास बैंकहरूले छ खर्ब दुई अर्ब सात करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी पाँँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले पाँच खर्ब ७७ अर्ब ६७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत वर्ष निष्क्रिय कर्जा औसत तीन दशमलव १९ प्रतिशत थियो ।
फाइनान्स कम्पनीहरूले यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म निष्क्रिय कर्जा १० दशमलव ८४ प्रतिशत पुगेको छ । पहिलो त्रैमाससम्म एक खर्ब ३३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा भने फाइनान्स कम्पनीहरूले एक खर्ब १४ अर्ब ८२ करोड ८० लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जसमध्ये औसत आठ दशमलव ३७ प्रतिशत निष्क्रिय कर्जा थियो ।