काठमाडौं । गरिमा विकास बैंकको गरिमा रोड रेस कम्पिटिसन २०८१ सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैली’का लागि खेलकुुद भन्ने नाराका साथ बैंकको १८ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसन २०८१ सफलतापूर्वक सम्पन्न भएको हो ।
प्रतियोगिताका प्रमुख अतिथि कीर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरद्वारा उद्घाटन गरिएको गरिमा रोड रेस कम्पिटिसन २०८१ को खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल चार वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुल्लातर्फको १० किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानीलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पुनः लाजिम्पाट, काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेटतर्फको पाँच किमि दूरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंबाट सुरु भई नारायणगोपालचोक पुगी पुनः लाजिम्पाट काठमाडौं आई समापन हुने गरी रुट तय गरिएको थियो । कुल छ सय ५० जनाभन्दा बढी धावकहरूको सहभागिता रहेको उक्त प्रतियोगिताका हरेक विधामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरूलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार रूपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । विकास बैंकका अध्यक्ष श्याम प्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।
कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपाल का अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको पाँच किमि र १० किमि दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए । साथै, विकास बैंकले मिति २०८१ कात्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई बंगलादेशको टिमविरुद्ध गर्नेप्रति गोल एक लाख रूपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा एक गोल गरेकाले घोषणा गरेबमोजिमको एक लाख रूपैयाँ नगद पुरस्कार समेत उक्त कार्यक्रममा अखिल नेपाल फुटबल संघ, राष्ट्रिय महिला फुटबल टिमको प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।
गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा यस कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।