काठमाडौं, असार २६
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको दुुई अर्ब ५० करोड बराबरको ऋणपत्र १० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६ सूचीकृत भएको छ । सूचीकरणसम्बन्धी सम्झौतामा बैंकका बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा नेपाल स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुुन् ।
बैंकका अनुसार दुुई अर्ब ५० करोडबराबरको अर्थात् एक हजार अंकित मूल्यका २५ लाख कित्ता १० दशमलव २५ प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८६, २०७६ फागुुन २० गतेदेखि २०७६ चैत चार गतेसम्म बिक्री भएको छ । यसै नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतप्राप्त सहयोगी विकास बैंक लिमिटेड (जनकपुर केन्द्रीय कार्यालय रहेको) लाई प्राप्ति गरी असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरिसकेको छ । प्राप्तिपश्चात् बैंकको कुल शाखा एक सय नौ पुगेको छ । प्राप्तिपश्चात् बैंकको चुक्ता पुँजी नौ अर्ब आठ करोड रुपैयाँ रहेको छ ।
बैंकले देशैभरि फैलिएका आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ । सूचना प्रविधिमा आएको परिवर्तनलाई अङ्गीकार गर्दै बैंकले ग्राहक वर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरू समेत सञ्चालनमा ल्याएको छ ।