काठमाडौं । बक्यौता नउठे पनि उद्योगहरुको लाइन तत्काल नकाट्ने नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले निर्णय गरेको छ। तर दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले बुधबार बसेको समितिको बैठकको निर्णयमा फरक मत राखेका छन् ।
विद्युत् नियमन आयोगले लाइन नकाट्ने गरी मंगलबार पठाएको पत्र कार्यान्वयनमा ऊर्जामन्त्री दीपक खड्काले जोड दिएका थिए । प्राधिकरणले दिएको म्याद सकिए पनि अहिले नै उद्योगको लाइन नकाट्ने बोर्डले निर्णय गरेको हो। एक सञ्चालकले बुधबारको निर्णय माइन्युट हुन बाँकी रहेको बताए।
बक्यौता १५ दिनभित्र उठाउने र उद्योगमा काटिएको बिजुली जोड्ने गत कात्तिक २५ मा मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। सोलगत्तै २७ गतेको बोर्ड बैठकले उक्त निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्राधिकरणले मन्त्रिपरिषद्को उक्त निर्णयपछि सार्वजनिक सूचनामार्फत १५ दिनभित्र बक्यौता नउठे पुनः लाइन काटिदिने जनाएको थियो। सो समय आज बुधबार सकिने भएपछि आयोगले हिजो मंगलबार प्राधिकरणलाई यथास्थितिमा रहन पत्र पठाएको थियो।