विराटनगर । दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत गर्न नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच राजनीतिक संयन्त्र बनेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।
उनले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने र त्यसपछि अन्य दलहरूसँग छलफल गर्ने योजना रहेको विराटनगर विमानस्थलमा बुधबार पत्रकारसँगको भेटमा बताएका हुन् । उनले संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्दपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे । कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने थापाले बताए ।
बीआरआईका सन्दर्भमा उठ्ने गरेको आशंका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको आसन्न चीन भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उनले बीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।
उनले भने, “विकासका लागि ठूलो पुँजीको आवश्यकता पर्ने भएकाले हाम्रा मित्र राष्ट्रहरुबाट अहिलेलाई ऋण नभई अनुदान सहयोगको अपेक्षा राखेका छौँ ।”