काठमाडौं । बाग्लुङ क्षेत्रलाई एडभेन्चर हबको रूपमा विकास गर्न सफल र अहिलेको प्रसिद्ध पर्यटकीय गन्तव्य द क्लिफ नेपाललाई आन्तरिक राजस्व कार्यालय, बाग्लुङले उत्कृष्ट करदाताको सम्मान गरेको छ ।
पर्वत जिल्लामा दर्ता रहेका करदाताहरूमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकाले राष्ट्रिय कर दिवस–२०८१को अवसरमा कार्यालयले सम्मान गरेको हो । कार्यालयका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तवले क्लिफका अध्यक्ष राजु कार्कीलाई कर दिवस–२०८१ का सन्दर्भमा आयोजित कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जीजम्प सञ्चालन हुँदै आएको छ । बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो व्यावसायिक स्काई साइक्लिङ, स्काई क्याफे, बाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रिज, स्काई ग्लाइडिङ, स्काइ चेयरलगायत गतिविधि सञ्चालनमा छन् ।