काठमाडौँ । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छिन । चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको यही मंसिर १७ गतेदेखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए ।
भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री यीसँग मन्त्री डा. राणाले द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सो भेटवार्ता परराष्ट्र मन्त्रालयले शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने जनाएको छ । परराष्ट्रमन्त्री डा. राणा यही मङ्सिर १५ गते स्वदेश फर्किनेछिन् ।