पेरु । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् ।
राजधानी लिमाबाट करिब तीन सय ५० किलोमिटर दक्षिणमा रहेको पेरुको ओकुकाजे मरुभूमिमा सन् २०२३ को अन्त्यतिर करिब तीन मिटर (करिब १० फिट) लामो घडियाल गोहीको जीवाष्म फेला परेको थियो ।
‘हामीले यो प्रजातिको किशोर घडियाल गोहीको अवशेष फेला पारेका छौँ, अहिलेसम्म यसको अधिकतम ठूलो आकार फेला परेको रेकर्ड थिएन । यसको एक करोड २० लाख वर्षभन्दा पहिले नै मृत्यु भएको थियो, मेरुदण्डी जीवाश्म विज्ञानका अनुसन्धाता मारियो ग्यामराले एक पत्रकार सम्मेलनमा भने ।
अवशेषकोे पुनर्निर्माणको नेतृत्व गरेका ग्यामराका अनुसार यी नमूनाहरूको खप्पर र बंगारा आजका गोही र मगरमच्छ (गोही)हरूको भन्दा फरक छ । ग्यामराले भने, ‘तिनीहरूको लामो र चुच्चे मुख थियो र उनीहरूको आहार माछा मार्ने खालको थियो, उनले भने, ‘यो गोहीको सबैभन्दा नजिकको जाती भारतीय घडियाल गोही हो ।’ पेरुको ‘जियोलोजिकल, माइनिङ एन्ड मेटलर्जिकल इन्स्टिच्युट’ र ‘ला युनियन स्कुल’ले संयुक्त रुपमा उक्त खोज गरेका हुन् ।
पेरुको ओकुकाजे मरुभूमिमा चार खुट्टा भएका बौना ह्वेल, डल्फिन, शार्क र अन्य प्रजातिका मिओसिन कालका ५० लाख बर्षदेखि दुई करोड ३० लाख वर्ष पहिलेका अवशेष पत्ता लागेका छन् । रासस/एएफपी