रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका–६ फर्पुमा त्रिवेणी यातायातको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक बालकसहित तीन जना घाइते भएका छन् । घाइते भएका तीनमध्ये एक जनाको अवश्था गम्भीर रहेको रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिएका छन् । उनका अनुसार घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको बताए । प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हिराबहादुर कार्की बाहेक अन्य मृतकको पहिचान खुलेको छैन।