सुरज बिस्ट
धनगढी, असार २८
धनगढी उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट खर्च न्यून छ । आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा पुँजीगत विकास खर्च जम्मा २६ करोड अर्थात् ३५ प्रतिशत मात्र छ । जसमध्ये लकडाउन अवधिमा मात्रै १५ करोड बजेट खर्च गरेको छ । चालूगत खर्च पनि सन्तोषजनक छैन ।
चालू आर्थिक वर्षमा १ अर्ब ५३ करोड बजेट विनियोजन गरेको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष सकिनै लाग्दा प्रशासनिक खर्च ८५ करोड र विकास खर्च २६ करोड भएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले बताए । पुँजीगततर्फ जम्मा २६ करोड अर्थात् ३५ प्रतिशत मात्रै खर्च भएको छ । जबकि कर्मचारीकै तलब भत्तालगायतमा प्रशासनिकतर्फ ८५ करोड खर्च भइसकेको छ । पुँजीगततर्फ जसमध्ये लकडाउन अवधिमा मात्रै १५ करोड बजेट खर्च भएको उनले जानकारी दिए । कोरोना कहर र लकडाउनका कारण अपेक्षाकृत रूपमा काम हुन नसकेको उनको भनाइ छ ।
राजस्व संकलनको अवस्था पनि निकै दयनीय छ । १७ करोड ३० लाखको राजस्व संकलनको लक्ष्य रहे पनि हाल सम्म १३ करोड मात्रै राजस्व संकलन भएको प्रशासकीय अधिकृत सापकोटाले बताए । कोरोना व्यवस्थापनमा पनि उपमहानगरपालिका उदासीन देखिएको छ । राहत वितरणमा मात्रै ३ करोड र स्वास्थ्य सामग्रीमा हालसम्म ५ लाख खर्च भएको उनको भनाइ छ ।
प्रदेश कोष तथा लेखा नियन्त्रणको कार्यालयले धनगढी उपमहानरपालिकाको बजेट खर्च अवस्था सन्तोषजनक नरहेको जनाएको छ । कार्यालय प्रमुख लक्ष्मी प्रसाद जोशीले यो बेला बजेट खर्चको अवस्था ८० प्रतिशत माथि हुनुपर्नेमा त्यो हुन नसकेको बताए । उनले भने, ‘आर्थिक वर्षको अन्त्यमा मात्रै काम गर्ने र भुक्तानी गर्ने वर्षौं देखिको परिपाटी छ, जसका कारण वर्षको अन्त्यमा भए पनि बजेट खर्चको चटारो चल्छ, उसो त यस वर्ष पनि अहिले बजेट सकाउने चटारो भने नचलेको हैन तर पनि जारी लकडाउनका कारण बजेट खर्च गर्नसक्ने अवस्था छैन ।’
तर उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले भने कोरोना भाइरस र लकडाउनका कारण अपेक्षाअनुसारको बजेट खर्च हुन नसकेको भन्दै बचाउ गरे । अन्य पालिकाको तुलनामा धनगढी उपमहानगरपालिकामा बढी काम भएर रकम खर्च भएको उनले दाबी गरे । थुप्रै योजनाहरूको काम भएर पनि भुक्तानी नभएकाले असार मसान्तसम्म बजेट खर्चको अवस्थाले गति लिने उनको भनाइ छ ।