काठमाडौं । यतिबेला संसद्को चौथो हौसियतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आधा दर्जन सहकारी ठगीको आरोपमा हिरासतमा छन् । उनको हिरासतवास दुई महिना पुग्ने क्रममा छ ।
चारवटा जिल्लाले त पकाउ पुर्जी नै जारी गरिसके भने तीनवटाले बयान लिइरहेका छन् । लामिछाने आफ्नै निर्वाचन क्षेत्रमा पनि यस्तै ठगीमा बयान दिन जानुपर्दैछ ।
यो मुद्दा अबको केही समयमा नै अदालत प्रवेश गर्दैछ । सहकारीपीडितहरू सडकमा नै ओर्लिएर न्यायको माग गरिरहेका छन् । त्यस कारण पनि उनले न्यायको अपेक्षा गर्नु अस्वाभाविक होइन ।
तर, विगतमा केही यस्ता दृश्य पनि प्रकट भएका छन् जसबाट ठगीकर्ताहरूले आफ्नो पैसा र पहुँच प्रयोग गरेर न्यायालयलाई समेत पनि प्रभावित पार्न खोज्दारहेछन् भन्ने सन्देश दिन्छ । त्यसबेलाका एक ठूला ठगलाई १० करोड धरौटीमा छुटाउन र त्यसबापत दुई करोड आफूबीच बाँड्ने एक अधिवक्ता र उक्त मुद्दा हेरिरहेका एक जिल्ला न्यायाधीशबीचको टेलिफोन संवाद त्यसैबेला सार्वजनिक भएको थियो ।
वर्ताका पक्षहरू वकिलतर्फ नेपाल बार एसोसियसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश राजकुमार कोइराला हुन् । विषयचाहिँ सात अर्बभन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छुटाउने सन्दर्भ । यस्तो छ संवाद :
न्यायाधीश – रुद्रजी !
रुद्रप्रसाद पोख्रेल – प्रधानन्यायाधीशबाट १ नम्बर र तपाईँ दुईटैलाई म खबर गर्न लगाइदिन्छु ।
न्यायाधीश – प्रधानन्यायाधीशलाई ?
रुद्रप्रसाद पोख्रेल – प्रधानन्यायाधीशबाट १ नम्बरलाई खबर गर्न लगाइदिन्छु । हजुरलाई पनि खबर गर्न लगाइदिन्छु ।
न्यायाधीश – ....
रुद्रप्रसाद पोख्रेल – हजुरले गर्दै नगर्ने भए त म बेकरमा किन बचन खेर फाल्न किन जाने त, भन्नु न ! गर्दै गर्दिनँ भन्ने हो भने ...
न्यायाधीश – सुन्नुहोस् न, सुन्नुहोस् न – डराएँ ।
रुद्रप्रसाद पोख्रेल – हत्तेरिका तपाईँ डराउनु पर्दैन, किन डराएको, यस्तो मौका कहिले आउँछ, अनि किन ? अरु मान्छे कत्रो गरेर बसेका छन् ।
न्यायाधीश – त्यो हो कि हुनलाई, तर के भनेदेखि त्यो अब (डराएर)
रुद्रप्रसाद पोख्रेल – तपाईँले यो छोड्नुभयो भने तपाईँले तामाङको साम्राज्य पनि सकिन्छ, डिपोजिटकर्ता पनि सकिन्छन् । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाहिँ माइकालालले पैसा खाएर यति गर्यो भन्ने खालको छ ? अभियोग पत्र नै त्यस्तो बनाएर ल्याएको छ । सहकारी ऐनबमोजिमको कसुर स्थापित गरेर ल्याएको थियो भने हजुरलाई अलि अप्ठ्यारो हुन्थ्यो । किनकि त्यहाँ त ऐनका सबै कुराहरू थिए । के–के थे, ठगी त केही गरे ठहरिँदैन । नठहरिने कुरामा मान्छेलाई थुन्न हुन्छ त हजुर ?
न्यायाधीश – (हाँसो, ह ह ह ह) त्यो त हो कि, हुनलाई । त्यो कुरामा म कन्भिन्स छु । तर कुरा के भनेदेखि,
रुद्रप्रसाद पोख्रेल – त्यस्तो क्या हजुर, त्योमध्येका केही मान्छे मेरो घरमा आइसके । अफिसमा पनि आइसके । तँलाई हामी ठीक गर्छौँ भनिसके । बहस नै गर्नसक्नेलाई पनि नभन्ने भन्ने हुन्न । त्योमध्ये रामप्रसाद श्रेष्ठ भन्ने मेरो क्लाइन्ट रहेछ । रिसाउँदै आएका थिए । त्यसको १० करोड कि १२ करोड रहेछ । तपाईँ त इमान्दार राम्रो वकिल भनेको त तामाङको पक्षमा त्यस्तो बहस गर्नुभयो तपाईँले भन्दै आएका थिए । अनि मैले... !
न्यायाधीश – हिजो डिल्लीप्रसाद भट्टराई भन्ने आठराईको हो । वकिललाई त्यसो भन्नु हुन्छ ? वहाँको पेसा हो, धर्म हो भनेँ । धत ! त्यस्तो भन्नु हुन्न भनेँ। त्यस्तो भन्छन् !
रुद्रप्रसाद पोख्रेल – भन्छन् के, यस्तो के ! मैले त सुरुदेखि नै हजुरलाई भनेको थिए ।
न्यायाधीश – सुन्नु न त, जाहेरवालाको वकिल केशव बराल के रे ?
रुद्रप्रसाद पोख्रेल – होइन, रमेश बडाल ।
न्यायाधीश – को रे ! रमेश बडाल बहस गर्न आउने रे ?
रुद्रप्रसाद पोख्रेल – बहस त गर्न पाइयो नि त हजुर !
न्यायाधीश – आज दिनभरि लागि हाल्छ । आजभोलि हुन सक्तैन । त्यसले गर्दा फेरि, सुन्नुस् न, बर्बाद हुन्छ नि त !
रुद्रप्रसाद पोख्रेल – केही हुँदैन । केही हुन्न !
न्यायाधीश – हँ !
रुद्रप्रसाद पोख्रेल – म माथि गराउँछु । माथिबाट सङ्केत आएन भने नगरिस्यो हगि ? माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिऔँ । यो अवसर सधैँ आउँदैन, हेरिस्यो हगि ? फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैँले भन्नुहुन्थ्यो । मैलेचाहिँ अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको । मैले बरु ।
न्यायाधीश – प्रधानन्यायाधीशले भन्छन् त ? प्रधानन्यायाधीशले उनलाई !
रुद्रप्रसाद पोख्रेल – भन्छन्, म भनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाईँ । आज चिया समयमा तपाईँलाई उसले सङ्केत गर्छ ।
न्यायाधीश – ल हेर्नु न ! (खितितिती हाँसो) ।
रुद्रप्रसाद पोख्रेल – ल हेरौँ न होइन ? मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइँ भने ?
न्यायाधीश – आज हुँदैन । भोलि हुन्छ भनेपछि, आज मुद्दा रोकिने कुरा छैन । हैन ?
रुद्रप्रसाद पोख्रेल – सामान पनि ल्याओ भन्नु पर्यो । ऊ गर्नु पर्यो। त्यत्तिकै फोगटिया त किन गर्ने फेरि ? समय नै छैन नि त । हैन किन ऊ गरिस्या भन्या । सबै कुरा गरिसकेपछि यस्तो बेलामा ऊ गर्नु हुन्न, सबै कुरा म गरिहाल्छु । बाहिर, माथि पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्योभन्दा बाहिर अन्त कही एस्पोज हुँदैन । केही हुँदैन, डाइरेक्ट डिल गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासैमा दह्रोसँग यिनीहरू जान सकेनन् ।
न्यायाधीश – धरौटी माग्छन् नि, कति माग्ने ? कति भन्नु त !
रुद्रप्रसाद पोख्रेल – एउटा रिजनेबल भन्ने नि ।
न्यायाधीश – कति माग्ने त ?
रुद्रप्रसाद पोख्रेल – १० करोडको हाराहरीमा माग्नु नि !
न्यायाधीश – कति, १० करोड ! हा हा हा हा । ठीक छ, हुन्छ । अब अप्ठ्यारो पर्यो भने हजुर !
रुद्रप्रसाद पोख्रेल – पर्दैन पर्दैन । सधैँ यस्तो आउँदैन । अरु बेला गर्ने, यस्तो बेलामा एक–दुईवटा सिद्धान्त छाँट्ने, गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नि के–के गर्ने, एक–दुईवटा आइडिया निकालौँला नि हजुर !
न्यायाधीश – अँ ... (हाँसो)
रुद्रप्रसाद पोख्रेल – त्यो गरौँ, यतातिर झ्याप्राक्कै दुईजति लिऔँ न !
न्यायाधीश – अँ ! ... (हाँसो)
रुद्रप्रसाद पोख्रेल – माथिबाट हुन्छ । तपाईँ, ए रामप्रसाद सर । अहिले गएर मैले गएर नमस्ते गरेर मैले मेरो यति काम तैले गर्नुपर्छ भन्दा गरेन भने त योजति खुद्रगत को हुन्छ त ? पैसा खाएरचाहिँ लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?
न्यायाधीश – उनीहरूले गर्ने ?
रुद्रप्रसाद पोख्रेल – उनीहरूले त गर्ने नि !
न्यायाधीश – ए अँ !
वकिल – होइन, अब मैले यो यो कारणले तैले गर्नुपर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नहुने, चिज भए हुने । यो त उही लिगल्ली तपाईँ कन्भिन्स भएको, खालिी मिडियाले के गर्ला कि, कसले के गर्ला कि भनेर न हो ।
न्यायाधीश – मिडियाले फेरि नाराजुलुस गर्लान् कि ?
रुद्रप्रसाद पोख्रेल – केही गर्दैनन् । त्यो केही गर्दैनन् । नाराजुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट ऊ पनि भएर आउँछ । माथिबाट तपाईंको आदेश सदर गर्ने सम्पूर्ण जिम्मा मेरो । तपाईँ किन आतिएको हो त ?
न्यायाधीश – त्यही त ।
रुद्रप्रसाद पोख्रेल – पहिला पास हुँदैन होला कि भन्ने थियो । मुद्दा सबै हेरिसकेपछि यो त तपाईँले सक्नुभएन भने माथिकाले सक्छन् । बेकारमा अर्काका छोराछोरी ऊ गरेको किन गर्नुहुन्छ तपाईँ ? आफ्नै गरुन् ।
न्यायाधीश – त्यो त हो कि, ठीकै छ । माथिबाट भन्नु न ।
रुद्रप्रसाद पोख्रेल – ठीक छ, म भन्न लगाउँछु । माथिबाट भन्न लगाउँछु । पैसा म बेलुका समातिसक्छु ।
न्यायाधीश – ठीकै छ, बुझेँ त । १० करोडभन्दा धरौटी ५० करोड माग्नुपर्छ कि ?
रुद्रप्रसाद पोख्रेल – ५० करोडभन्दा त यसैयसै थुने भैगयो नि त्यसलाई । हा हा हा हा ।
न्यायाधीश – १० करोड भनेको १० करोडै हुन्छ त भन्या ?
रुद्रप्रसाद पोख्रेल – १० करोड भन्या सानो पैसा होइन ।
न्यायाधीश – सुन्नु न, पत्रिकामा आउँछ कि ? डर लाग्छ । जागिर जान्छ कि भन्ने डर लाग्छ ।
रुद्रप्रसाद पोख्रेल – कसरी खान्छ जागिर ? उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने मेरो काम हो । अनि कसरी जागिर जान्छ ?
न्यायाधीश – सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?
रुद्रप्रसाद पोख्रेल – कस्तो कुरा गरिस्या होला ? पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुरजस्तो न्यायाधीश भएको के काम ? यो पत्रिकामा आउने, यो ऊ गर्ने हो भने त त्यसै तारिखमा छोड्नुपर्ने मान्छे छ । इस्युका आधारमा त तारिखमै छोड्नु पर्ने ।
न्यायाधीश – हा हा हा हा ।
रुद्रप्रसाद पोख्रेल – हैन–हैन । हजुरले साह्रै खुट्टा कमाउने, टेक्तै टेक्तिनँ भन्ने हो भने त नगरौँ कुरा । हैन माथिबाट कुरा आउँदा पनि ...
न्यायाधीश – भोलि पत्रिकामा आएर छ्याल्लब्याल्ल भएर के भयो भनेदेखि ?
रुद्रप्रसाद पोख्रेल – एउटा त्यसो भए किन बेकारमा गोला तान्ने त ? त्यो अर्काको मै परेको भए हुन्थ्यो ।
न्यायाधीश – तान्दाखेरी परेको क्या । हा हा हा हा ।
रुद्रप्रसाद पोख्रेल – यत्रो यो एक/डेढ महिनाको टेन्सन । बेकारको झर्को किन ऊ गरिराख्या त ? अब ठाउँ नभएको भए एउटा कुरा हुन्थ्यो क्या ?
न्यायाधीश – बुढीमान्छेको त, ऊ गर्दा त, मान्छेको त ———–
रुद्रप्रसाद पोख्रेल – उनीहरूको पक्षमा पनि दुई–चारवटा कुरा लेखौँला नि हजुर । विदेश जान नपाउने, पासपोर्ट ऊ गर्ने, उसमा बस्नुपर्ने भन्ने । के–के हुन्छ । मलाई पनि सबै के थाहा हुन्छ र ? हजुरलाई सबै आइडिया छ नि ।
न्यायाधीश – मैले सल्लाह गर्छु नि त । हाम्रो गुरुज्युसँग सोध्छु नि त ।
रुद्रप्रसाद पोख्रेल – अब के गरुँ त ? प्रधानन्यायाधीशकहाँ टाइम लिऊँ ?
न्यायाधीश – अहिले ? भन्न त भन्छ ?
रुद्रप्रसाद पोख्रेल – शतप्रतिशत भन्छ ।
न्यायाधीश – हो ?
रुद्रप्रसाद पोख्रेल – १ नम्बरलाई बोलाएर भनिदिन्छ ल ?
न्यायाधीश – कसलाई ? १ नम्बरलाई बोलाएर, त्यही भन्या होइन त हजुरले ?
रुद्रप्रसाद पोख्रेल – राजुलाई बोलाएर, भन्न लगाएर, राजुले तपाईँलाई भन्छ ।
न्यायाधीश – ल भन्नु न त । जे गरौँला गरौँला ।