काठमाडौं । नेपाली कांग्रेसले प्रथम महिला नेतृ मंगलादेवी सिंहको जन्म शताब्दी मनाउने भएको छ । नेपालको राजनीतिक इतिहासमा महिला अधिकार, नारी शिक्षा र प्रजातन्त्रको आवाज बुलन्द गर्ने अग्रणी महिला नेतृ मंगलादेवी सिंहको जन्म वि.सं. १९८२ मंसिर २५ गते र स्वर्गारोहण वि.सं. २०५३ भाद्र १० गते भएको थियो ।
दुई छोरा र तीन छोरीकी आमा सिंह आगामी मंसिर २५ गते ९९ वर्ष पूरा भएर १०० औँ वर्षमा प्रवेश गर्दै गर्दा नेपाली कांग्रेसले जन्मजयन्तीलाई जन्म शताब्दी वर्षका रूपमा मनाउने निर्णय गरेको हो ।
सिंहको जन्म शताब्दी मनाउने निर्णय गर्दै कांग्रेसले जारी गरेको विज्ञप्तिमा नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका लामो संघर्षमा होमिई आफ्नो जीवन उत्सर्ग गर्ने, देशमा महिला जागरण ल्याउन अग्रणी भूमिका खेल्ने नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिकी पूर्वसदस्य एवं नेपाल महिला संघकी संस्थापक सभापति सिंहको निधनले नेपाली कांग्रेस मात्र होइन सम्पूर्ण राष्ट्रले एउटा ओजस्वी महिला नेतृत्व गुमाएको जनाएको छ ।
पाँच दशकभन्दा लामो राजनीतिक जीवनमा सिंहले नेपाली कांग्रेस पार्टी र मुलुकको प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको संघर्ष र योगदानलाई देश र नेपाली जनताले सधैँ सम्झिरहने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेसकी नेतृ मंगलादेवी सिंहको संघर्षमयी जीवन, मुलुकप्रति उनले पुर्याएको योगदानको स्मरण गर्दै मंसिर २५ गते देशका सबै प्रदेश, जिल्ला, क्षेत्र, नगर, गाउँ, वडा तहसम्म सबैको सहभागितामा वृक्षारोपण/रक्तदान/सभा/गोष्ठी/र्याली/प्रशिक्षणलगायतका विविध रचनात्मक कार्यक्रमको आयोजना गरी जन्म शताब्दी भव्यरूपमा मनाउन नेपाली काँग्रेसले आग्रह गरेको छ ।
सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो भने २०२५ सालपछि आठ वर्ष प्रवासमा रहेकी सिंह २०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा पनि सक्रिय भएकी थिइन् ।