काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि (सलिको) का बीचमा सलिको सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रूपमा रहने गरी सम्झौता भएको छ । सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्यलगायत अन्य कर्मचारीहरूको उपस्थिति रहेको कार्यक्रममा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरूको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र एक लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ ।
रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिकोसँगको आबद्धताले आफूहरू अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन् । त्यस्तै, सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदूरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडीहरू उत्पादन गर्ने उर्वर भूमिको रूपमा रहँदै आएको कुरा उल्लेख गर्दै, विशिष्ट प्रकारको संस्कृति, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपूर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदूरपश्चिम रोयल्ससँग सहकार्यको हात अगाडि बढाउन पाउँदा सिँगो सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) परिवार र स्वयं आफू पनि अत्यन्तै हर्षित भएको कुरा उल्लेख गरेका छन् । साथै, सबैभन्दा धेरै समर्थकहरूको रोजाइमा पर्न सफल यस टिमको अभिन्न अंग हुनपाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताए ।
अन्त्यमा क्षेत्रीले नेपाल प्रिमियर लिगको यस ऐतिहासिक पहिलो संस्करणको उपाधि जित्नका निम्ति सुदूरपश्चिम रोयल्सको टिमलाई हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।