काठमाडौं । नेपाल टेलिकमले ‘एनटी क्रिकेट धमका प्याक’ सार्वजनिक गरेको छ । कम्पनीले नेपाल प्रिमियर लिग (एनपीएल) लाई मध्यनजर गर्दै सो प्याक सार्वजनिक गरेको हो ।
यस योजनाअन्तर्गत प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि छ सय ९९ रुपैयाँमा तीन सय जीबी डाटा उपलब्ध हुनेछ, यसमा प्रतिदिन १० जीबी डाटा प्रयोग गर्न सकिने र १० जीबीको लिमिट पूरा भए बाँकी समय तीन एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । यसैगरी चार सय ९९ रुपैयाँमा प्रतिदिन पाँच जीबीका दरले एक सय ५० जीबी डाटा उपलब्ध हुनेछ । यसमा पाँच जीबीको लिमिट पूरा भए बाँकी समय दुई एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । पोस्टपेड प्रयोगकर्ताका लागि मासिक रेन्टल समेत समावेश गरिएका धमाका प्याकहरूको समयावधि ३० दिन रहेको छ भने प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन समयावधि रहेको छ ।
सो योजना आगामी पौष ६ गतेसम्म लागू हुने जनाइएको छ । एनटी क्रिकेट धमाका प्याकहरू मोबाइलबाट स्टार१४१५स्टार११ह्याक्स डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत खरिद गर्न सकिनेछ । टेलिकमले प्रायोजन गरेको सुदूरपश्चिम रोयल्स टिमसँगको बिहीबार भएको भेटघाट कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख स्वतन्त्र प्रताप शाहले संयुक्तरूपमा उक्त एनटी क्रिकेट धमाका प्याकको शुभारम्भ गरेका थिए ।
साथै, टेलिकमले एनपीएल हुने कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुन सक्ने दर्शकको अत्यधिक चापलाई ध्यानमा राखी मैदान वरिपरि स्माल सेललगायतका उपकरण राखेको छ । यस्तै, क्रिकेट एसोसियन अफ नेपाल (क्यान) को अनुरोधमा मिडिया सेन्टर सञ्चालनका लागि एक जीबीपीएस गतिका दुई थान एफटीटीएच निःशुल्क जडान गरिएको जनाएको छ ।