ललितपुर । ‘लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पाँचौँ दिन, आफन्त नेपालद्वारा आयोजित चेतनामूलक कार्यक्रम ललितपुरको नखिपोटमा सम्पन्न भएको छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्यमा विगत १८ वर्षदेखि क्रियाशील आफन्त नेपालले ललितपुर महानगरपालिका वडा नं १४, जिल्ला प्रहरी परिसर जावलाखेल र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा प्रभातफेरि तथा सडक नाटक प्रदर्शन गरिएको हो ।
कार्यक्रमको अध्यक्षता ललितपुर महानगरपालिका वडा नं १४ का वडाध्यक्ष अमृत जंग महतले गर्नुभएको थियो भने प्रमुख अतिथि ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकाल हुनुहुन्थ्यो । विशेष अतिथिमा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका सहायक निर्देशक भूमिप्रसाद पाठकलगायतको उपस्थिति थियो ।
कार्यक्रममा आफन्त नेपालका अध्यक्ष मोहन चम्लागाईं र कार्यकारी निर्देशक एलिसन पाण्डेसहित स्थानीय वडा सदस्य, महिला स्वयंसेविका, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायत करिब पाँच सय जनाको सहभागिता रहेको थियो । प्रमुख अतिथि र अन्य वक्ताहरूले लैङ्गिक हिंसा अन्त्यका लागि सबै क्षेत्रबाट ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिनुहुँदै यस अभियानले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आफन्त नेपालले प्रस्तुत गरेको चेतनामूलक सडक नाटकले लैङ्गिक हिंसा र मानव बेचबिखनको अन्त्यका लागि व्यक्तिगतस्तरबाटै पहल गर्नुपर्ने सन्देश दिएको थियो ।
कार्यक्रमका दौरान कार्यकारी निर्देशक एलिसन पाण्डेले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न जिल्लाहरूमा स्थानीय सरकार तथा संघसंस्थासँगको सहकार्यमा सचेतनामूलक गतिविधि सञ्चालन गरिरहेको जानकारी दिए ।