काठमाडौं । एनसेल फाउन्डेसनले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरूमा हानिने प्रत्येक चौकामा विद्यार्थीहरूलाई चार वटा शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।
एनसेल फाउन्डेसनले ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सो शैक्षिक सामग्री प्रदान गर्ने भएको हो । यस पहलले विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने जनाइएको छ । विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक किटमा आवश्यक शैक्षिक सामग्री समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान प्रदान गर्नेछ । एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले यस पहलमार्फत क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहेको बताइन् । यी शैक्षिक सामाग्रीहरूको वितरण क्रिकेट एसोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा गरिने जनाइएको छ ।