काठमाडौँ । प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कामकाज राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्नेगरी तोकेका छन् ।
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई दिइएको हो । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य राष्ट्रपति पौडेलले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणका लागि सोमबार बेइजिङ प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्किने कार्यतालिका छ ।