काठमाडौँ ।स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा सोमबार राति यो समाचार तयार पार्दासम्म ३९ स्थानको नतिजा आएको छ । उपनिर्वाचनमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नतिजा केही अदलबदल भए पनि उनीहरू नै मुख्य शक्तिको रूपमा देखिएका छन् । तीनवटै दलले यसअघि जितेका केही स्थान गुमाएका छन् भने केही नयाँ स्थानमा जित हासिल गरेका छन् ।
कहाँ को निर्वाचित ?
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसका कृष्णमान डङ्गोल विजयी भएका छन् । उनले पाँच हजार तीन सय ३४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका शिवशरण महर्जनले चार हजार पाँच सय ५५ मत ल्याए भने एमालेका सुरेन्द्र मानन्धरले चार हजार तीन सय ३७ मत ल्याए । कीर्तिपुर नगरपालिका–१ मा कांग्रेसका इच्छाकुमार महर्जन पाँच सय ६२ मत पाई निर्वाचित भए भने एमालेका हर्ष महर्जनले चार सय ९८ मत मात्रै पाए । यस्तै वडा नं ४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भए । उनले सात सय ४२ मत पाउँदा स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी)ले चार सय ९५ मत पाइन् ।काठमाडौं महानगरपालिका–१६ मा रास्वपाकी रोजिना श्रेष्ठले दुई हजार नौ सय दुई मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले दुई हजार दुई सय २० मत प्राप्त गरी पराजित भए ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी छ हजार नौ सय ६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत पाए । दैलेखको महाबुँ गाउँपालिकाको अध्यक्षमा एमालेका जङ्गबहादुर शाही तीन हजार एक सय २७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत प्राप्त गरे ।जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा माओवादीका देवका लामिछाने चार हजार दुई सय ७२ मत पाई निर्वाचित भएका छन् । रुकुम (पूर्व भाग)को पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा तीन हजार छ सय २७ मत ल्याएर विजयी भए । यस्तै बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भए । उनले एक हजार सात सय ४० मत ल्याएका छन् । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३ मा एमालेका कुमारी सावादेन तीन सय ५३ मतसहित विजयी भएकी छन् ।
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षका उम्मेदवार एमालेकी उमा लुङ्गेली मगर शेर्पाले विजयी हासिल गरेकी छन् । उनले माओवादी उम्मेदवारलाई दुई सय पाँच मतान्तरले हराउँदै विजयी भएकी हुन् ।झापाको कन्काई नगरपालिका वडा नं ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली चार सय ९३ मत प्राप्त गरी विजयी भएका छन् । उनको प्रतिद्वन्द्वी एमालेका तुलाराम बस्नेतले तीन सय ५६ मत पाएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा कांग्रेसका नगेन्द्र लिम्बू चार सय ४० मत प्राप्त गरी विजयी भए ।सुनसरीको गढी गाउँपालिका–६ मा कांग्रेसका तेतर साहु आठ सय १६ मत प्राप्त गरी विजयी हुँदा माओवादी केन्द्रका कुशेश्वर खेरवार सात सय ९४ मत प्राप्त गरी पराजित भए । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ मा एमालेका गङ्गाबहादुर तामाङ तीन सय ९९ मत प्राप्त गरी विजयी भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भए ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ को वडाध्यक्षमा जनता समाजवादी पार्टी, नेपालका धीरेन्द्रकुमार साह निर्वाचित भएका छन् । उनीसँग कांग्रेसका भूलियादेवी थरुनी पाँच सय ८७ मत मात्र प्राप्त गरी पराजित भइन् । डाक्नेश्वरी–४ मा जनता समाजवादी पार्टी नेपालकै देवेन्द्रप्रसाद यादव तीन सय ७२ मत प्राप्त गरी विजयी भए । उनको प्रतिस्पर्धी कांग्रेसका जोगिन्द्रराय अमातले दुई सय ७७ मत पाए । धनुषाधाम नगरपालिका–१ मा माओवादी केन्द्रका सुनील कापर केवट छ सय ८४ मतसहित विजयी भएका छन् ।महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाध्यक्षमा एमालेका सकिवुल खाँ छ सय ३१ मत प्राप्त गरी निर्वाचित भए । रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेख अब्दुल खलिक छ सय २७ मतसहित विजयी हुँदा एमालेका शेख अनवार पाँच सय ७५ मत प्राप्त गरी पराजित भए । गढीमाई नगरपालिका–८ एकीकृत समाजवादीका बजरङ्गी प्रसाद यादवले छ सय ५५ मत प्राप्त गरी निर्वाचित भएका छन् । रौटहटकै राजपुर नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका समसे आलम सात सय ४४ मतसहित विजयी हुँदा माओवादीका जिकरलाह चार सय ६३ मत पाई पराजित भए ।
नुवाकोटको ककनी गाउँपालिका–२ मा माओवादी केन्द्रका कृष्ण घिमिरे एक हजार ८५ मत प्राप्त गरी विजयी भएका छन् भने कांग्रेसका सूर्य तामाङले पाँच सय ८७ मत प्राप्त गरे ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका १२ को वडाध्यक्षमा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित विजयी भएका छन् । उनको प्रतिस्पर्धी माओवादीका रविकुमार प्रधान एक हजार पाँच सय ६० मतसहित पराजित भए । गोरखाको गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदमा माओवादीका विष्णुबहादुर मगर चार सय ८६ मत प्राप्त गरी निर्वाचित भए ।
गुल्मीको मुसिकोट नगरपालिका–१ को वडाध्यक्षमा कांग्रेसका आनन्द श्रेष्ठले एक हजार एक सय ८४ मत प्राप्त गरी विजयी भए । कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा एमालेका मोहमद ताहिर मुलसलमाले एक हजार एक सय ५० मतसहित विजयी भए । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेसका भूपमणि पुनमगर छ सय ४३ मतसहित विजयी हुँदा एमालेका वेगम पुनले पाँच सय ३५ मत पाए ।बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेस उम्मेदवार अमिन थारु एक हजार ४३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी शेरबहादुर थारुले छ सय ७८ मत पाए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा माओवादीका नरबहादुर झाँक्री एक सय ६१ मतसहित निर्वाचित भए । कालिकोटको तिलागुफा नगरपालिका–४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही एक सय ४३ मतसहित विजयी भए । जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका खम्बबहादुर सिंह तीन सय ४७ मत ल्याएर विजयी हुँदा माओवादीका गोरखबहादुर नेपालीले तीन सय ३२ मत पाए ।
दैलेखको दुल्लु नगरपालिका–१३ को वडाध्यक्षमा एमालेका लालबहादुर शाही पाँच सय ७४ मत ल्याएर विजयी भए । रुकुम (पश्चिम भाग) को सानीभेरी गाउँपालिका–५ मा कांग्रेसका मोतीराम खत्री पाँच सय ९० मतका साथ निर्वाचित भए । बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका धीरेन्द्र पुजारा छ सय ५७ मतसहित विजयी भए । यस्तै डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेसका मोहन थापा चार सय ६८ मतका साथ निर्वाचित भएका छन् ।दार्चुलाको दुहुँ गाउँपालिका–५ मा कांग्रेसका धनसिंह कुँवर तीन सय ७६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी एमालेका मानसिंह बडाल तीन सय ५८ मतमा सीमित भए । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द एक हजार एक सय सात मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी एमालेका बहादुर चन्दले चार सय ८७ मत ल्याए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की देवकी तिमल्सिनाले अग्रता कायम गरिरहेकी छिन् । उनको निकटतम प्रतिस्पर्धी कांग्रेसकी सविता बुढा छिन् ।उदयपुरको बेलका नगरपालिका वडा नं ९ को मतगणना सोमबार साँझ ५ बजेदेखि मात्रै सुरु भएको छ । सो वडामा एमालेका मोहन खड्का, कांग्रेसका नवराज बस्नेत, माओवादी केन्द्रका भरत घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद फुयाँल, मङ्गोल नेसनल अर्गनाइजेसनका सुरे तामाङ र जनता समाजवादी पार्टीका राजकुमार राई उम्मेदवार छन् ।