चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी (करिब नौ अर्ब रुपैयाँ) अनुदान सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच मंगलबार भएको भेटवार्तामा राष्ट्रपति सीले नेपाललाई पाँच सय मिलियन आरएमबी अनुदान दिने घोषणा गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको जानकारी दिए । भेटवार्तामा नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको बताए । उनले दुई देशबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको बताए । उनले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रपति सीले नेपाली वस्तु चिनियाँ बजारमा निर्यात गर्न र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न तयार रहेको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले चीन र नेपालको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताए । प्रधानमन्त्री ओलीले दुई देशबीचको आपसी सम्बन्धको मूल आधार सार्वभौमिक समानता र आपसी समझदारी एवं विश्वास भएको स्पष्ट पारे ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई निमन्त्रणा दिएका छन् । जवाफमा राष्ट्रपति सीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने प्रतिवद्धता जनाए । भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रशंसा गरेका थिए । साथै वर्तमान सरकार ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रुपान्तरणमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग नेपालले थप सहयोग र साझेदारी गर्न चाहेको जानकारी गराए ।
प्रधानमन्त्री ओली र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सुबीच पनि मंगलबार नै भेटवार्ता भएको छ । सो भेटमा उनीहरूबीच संसदीय अभ्यासका अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो ।
नौवटा सहमतिमा हस्ताक्षर
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि छ्याङबीच मंगलबार द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुनःनिर्माण सम्पन्न गरेको प्रमाणपत्रको आदानप्रदान, भैसीँको मासु चीन निर्यातसम्बन्धी प्रोटोकल (थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात पोर्टोकल)मा समझदारी भएको छ ।
यस्तै, विकास आयोजनासम्बन्धी सम्झौता, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी समझदारी, स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सम्पर्क सञ्जाल विस्तार, औद्योगिक तथा पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा सहकार्य, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकूद, प्राकृतिक प्रकोप व्यवस्थापन, दुई देशबीचको जनस्तरको सम्बन्ध, गरिबी निवारणलगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको छ ।