काठमाडौं । नेपाल–चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रका संस्थाहरूले सम्झौता गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सिसिपीआईटी अटो)ले अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्वपूर्ण सम्झौता गरेका हुन् । सम्झौताले नेपाल र चीनबीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ । व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालतजस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।
सम्झौताअन्तर्गत नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रूचि राख्ने चिनियाँ व्यवसायीहरूलाई सहयोग गर्नेछ । यस्तै, सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवद्र्धन गर्ने, प्रविधि आदान प्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रमहरू सञ्चालनमा साथ दिनेछ । यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिने सम्झौतामा उल्लेख छ, यसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपायहरू लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनियता कायम राख्ने प्रतिबद्धता जनाएका छन् ।
यो सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोस कदम भएको नाडाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधित्व गर्दै नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेती सहभागी छन् । सोही अवसरमा पूर्व निर्धारित कार्यक्रमअनुसार नाडा र सीसीपीआईटी अटोबीच साझेदारीपत्रमा हस्ताक्षर भएको हो ।