सोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले मंगलबार आपत्कालीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेका छन् । उनले बजेट विधेयकमा संसदीय संघर्षका बीच ‘साम्यवादी शक्तिहरू’बाट देशको रक्षा गर्न यो कदम आवश्यक रहेको बताएका छन् ।
‘उत्तर कोरियाका साम्यवादी शक्तिद्वारा निम्त्याइएका खतराबाट उदार दक्षिण कोरियालाई संरक्षण गर्न र विरोधी राज्य तत्वहरूलाई उन्मूलन गर्न मैले आपत्कालीन सैन्य कानुन घोषणा गर्दछु’, युनले राष्ट्रलाई प्रत्यक्ष टेलिभिजन सम्बोधनमा भनेका छन्, ‘जनताको जीविकोपार्जनलाई कुनै ध्यान नदिई विपक्षी पार्टीले महाभियोग, विशेष अनुसन्धान र आफ्नो नेतालाई न्यायबाट जोगाउनका लागि मात्र शासनलाई कमजोर बनाएको छ ।’
पिपुल पावर पार्टी र मुख्य विपक्षी डेमोक्रेटिक पार्टीले अर्को वर्षको बजेट विधेयकलाई लिएर झगडा जारी राख्दै गर्दा राष्ट्रपति युनको यो आश्चर्यजनक कदम आएको हो । विपक्षी सांसदहरूले गत हप्ता संसदीय समितिमार्फत उल्लेखनीयरूपमा घटाएको बजेट योजनालाई अनुमोदन गरेका थिए ।
‘हाम्रो राष्ट्रियसभा अपराधीहरूका लागि आश्रयस्थल बनेको छ, न्यायिक र प्रशासनिक प्रणालीलाई पक्षाघात गर्न र हाम्रो उदार लोकतान्त्रिक व्यवस्थालाई उल्टाउन खोज्ने विधायी तानाशाहीको अड्डा बनेको छ’, युनले भने । रासस/एएफपी