काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सञ्चालित कार्यक्रम सिटिजन एनुअल बिजनेस रिट्रेट २०८१ पोखरामा भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गतेसम्म पोखरास्थित होटेल ‘पोखरा ग्रान्ड’मा सम्पन्न भएको हो । यस कार्यक्रममा देशभरिबाट दुई सय ५० जनाको सहभागिता रहेको थियो ।
सिटिजन्स लाइफले आफ्नो कर्मचारी र अभिकर्ताहरूको लागि विभिन्न सीप विकास कक्षाहरू नियमित समयको अन्तरालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण कक्षाहरू प्रदान गर्दै आएको छ र यसै सन्दर्भलाई निरन्तरता दिँदै सञ्चालन गरिएको यस कार्यक्रमको मुख्य उद्देश्य सिटिजन्स लिडर्सहरूलाई विभिन्न क्षेत्रहरूमा अझै ज्ञान प्रदान गर्न रहेको हुँदा कार्यक्रममा मुख्य प्रशिक्षकको रूपमा अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाको उपस्थिति रहेको थियो । प्रशिक्षक झाले सिटिजन लिडर्सहरूको क्षमता तथा आत्मविश्वास अभिवृद्धिलाई मध्यनजर गर्दै बिक्री कला विकास, व्यक्तित्व विकास, सञ्चार, पेसाप्रति आत्मविश्वास, व्यक्तिगत प्रस्तुतिलगायत एमडीआरटी किन आवश्यक छजस्ता विभिन्न कुराहरूको प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका सिटिजन्स लिडर्सहरूले विविधतामा एकताको भावनालाई झल्काउदै आफ्ना सांस्कृतिक पोशाक तथा मौलिक संस्कृतिमा नाचगान गरेर कार्यक्रमलाई भव्य र उत्कृष्ट बनाएका थिए । यसका साथै कार्यक्रममा उपस्थित सहभागीहरूलाई सात वटा हाउसमा विभाजित गरी टिम निर्माणका लागि मनोरञ्जनात्मक खेलहरू खेलाइएको थियो । यस कार्यक्रमका साथै सिटिजन लाइफका अभिकर्ताहरूले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका थिए ।
एन्युअल बिजनेस रिट्रिट कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल एवं कम्पनीका प्रमुख मार्केटिङ अधिकृत भूषण रिमाललगायत कम्पनीमा उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षित सहभागीहरूको क्षमता अभिवृद्धि हुने तथा व्यवसायमा सहयोग मिल्ने कम्पनीले विश्वास लिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उपस्थित सम्पूर्ण सिटिजन लिडर्र्सहरूको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनहरूमा अझै व्यापार वृद्धि र व्यक्तिगत वृद्धिको उच्च सम्भाव्यता रहेको विचार प्रस्तुत गरे । सो कुरालाई मध्यनजर गर्दै, सुचारू गरिएको यस कार्यक्रमबाट उपस्थित सबै जनाले धेरै कुराहरूको ज्ञान प्राप्त गरेका र सिकेका कुराहरू आउने समयमा आधिकारिक र व्यक्तिगत जीवनमा काम लाग्ने आशा जनाए । यसै कार्यक्रममा सिटिजन अर्निङ प्वाइन्टको उद्घाटन पनि गरिएको थियो । आगामी दिनहरूमा पनि यसै प्रकारका विभिन्न तालिम तथा शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।