काठमाडौं, असार २८
सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले यही शुक्रबार शुक्रबार काठमाडौंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संंस्थाका अध्यक्ष सचिन जङ्ग रायमाझीकोे सभापतित्वमा सम्पन्न साधारणसभामा का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागतमन्तव्य दिएका थिए ।
सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उनले शुभकामना मन्तव्य राखेका थिए । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गरेको छ भने आ. व २०७६/७७ का लागि लेखापरीक्षकको नियुक्ति गर्दै २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
यसैगरी सभाले विशेष प्रस्तावअन्तर्गत चुक्ता पुँजीको ५ प्रतिशतले बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्दै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संस्थाको सञ्चालकमा कृष्णप्रसाद अधिकारीलाई निर्विरोध निर्वाचित समेत गरेको छ । सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको संस्थाले हालसम्म ४८ वटा शाखाहरुमार्फत २७ वटा जिल्लाहरुमा ३३ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । हाल करिब एक अर्ब २८ करोड लगानी गरेकोे संस्थाले निकट भविष्यमा थप स्थानहरुमा समेत आफना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।