काठमाडौं, असार २८
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका शाखाहरुले घरभाडा छुट पाएका छन् । संस्थाका अनुसार दाङ जिल्ला शान्तिनगर गाउँपालिकास्थित धनौरीमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालयलाई घरधनी तोपेन्द्र बहादुर थापाले एक महिना बराबरको घरभाडा छुट दिएका हुन । कोरोनाको कहर बीच विपन्न तथा न्यून आय भएको सदस्यलाई घरदैलोमा वित्तीय सेवा पु¥याउदै आएको संस्थालाई आर्थिक भार कम गर्ने अभिप्रायले आफूले सकेको सहयोग गरेको घरधनी थापाले बताए ।
शाखा कार्यालय धनौरीका कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले कठिनाईको यस अवस्थामा हातेमालो गरेकोमा घरधनी थापालाई धन्यबाद ज्ञापन गर्नुभयो । घोराही स्थित वित्तीय संस्थाको इलाका कार्यालय रहेको घरधनी माधवा पाण्डे र शाखा कार्यालय रहेको भवनका घरधनी कृष्ण बहादुर खड्काले घरभाडा रकम १५ दिन बराबरको रकम सहुसलियत दिएका छन । त्यसैगरी, उपशाखा कार्यालय थारमारेका घरधनी खड्ग बहादुर के.सी.ले पाँच हजार छुट दिएका छन ।
संस्थाले कोरोना रोकथामका लागि संघिय सरकारको कोषमा २५ लाख, विभिन्न जिल्लामा रहेका एक सय ४० वटा शाखा कार्यालयमार्फत स्थानीय सरकारहरुले खडा गरेको राहत कोषमा १० लाख नगद तथा शाखा कार्यालयमार्फत अप्ठ्यारोमा परेका सदस्य तथा स्थानीय समुदायमा राहत सामग्री समेत वितरण गरेको छ ।