दोलखा । जिल्लामा धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा चार सय ३७ मेट्रिक टन धान कम उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत वर्ष दोलखामा आठ हजार तीन सय ८६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्ष भने सात हजार नौ सय ४९ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापकी बाली विज्ञ शर्मिला फुयाँलले बताइन् । जिल्लामा लगातार खेतीयोग्य जमिन बाँझो बस्दा उत्पादन घट्दै गएको उनको भनाइ छ । यस वर्ष दोलखामा दुई हजार नौ सय १७ हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो । गत वर्ष भने धान उत्पादनमा केही वृद्धि भएको थियो । तर वर्ष फेरि घटेको छ । कृषि ज्ञान केन्द्र रामेछापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा दुई हजार नौ सय एक हेक्टर क्षेत्रफलमा सात हजार छ सय ८८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, २०७९/८० मा सात हजार ९१ मेट्रिक टन धान उत्पादन भएको थियो ।
लगातार धान उत्पादन घट्नुको मुख्य कारण सिँचाइ अभाव तथा खेतीयोग्य जमिन बाझो रहनु रहेको छ । यस्तै, किसानले धान बालीमा लगाउने मल अभाव हुनु तथा धानमा लाग्ने रोग किरा नियन्त्रण नहुँदा उत्पादन घट्दै गएको कृषि ज्ञान केन्द्र रामेछापका बाली संरक्षक बाली विज्ञ डम्बर नारायण दाहालले बताए । उत्पादन घट्नुको अर्को कारण तराई क्षेत्रमा हुने धानको बिउ र मध्य पहाडका लागि सिफारिस गरिएको धानको बिउ किसानले पहिचान नगरी लगाउँदा पनि धान उत्पादनमा कमी आएको दाहालले बताए । दोलखाको भीमेश्वर नगरपालिका, मेलुङ, वैतेश्वर र तामाकोशी गाउँपालिकामा धेरै धान उत्पादन तथा खेती हुने गरेको छ । अन्य पालिकामा भने सामान्य धान खेती हुने गरेको छ ।